खुल्याे लमजुङको घलेगाउँ, पर्यटकलाई मास्क अनिवार्य !

समिर जोसि

प्रसिद्ध पर्यटकीय गाउँ लमजुङको घले गाउँमा होमस्टे सञ्चालनमा आएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका घले गाउँका होमस्टे असोज १ गतेदेखि सञ्चालनमा आएको हो ।

गाउँपालिकाको निर्णयअनुसार नै घलेगाउँमा होमस्टे सञ्चालनमा आएको घले गाउँका कार्यालय सचिव दीर्घ घलेले जानकारी दिनुभयो ।
स्वास्थ्यका सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी होमस्टे सञ्चालनमा ल्याइएको छ’, घलेले भन्नुभयो, ‘गाउँपालिकाको निर्णयअनुसार नै होमस्टे सञ्चालन गरिएको हो ।’
उहाँका अनुसार अहिले घले गाउँमा काठमाण्डाै, बुटवल, पोखरा, चितवनलगायतका ठाउँबाट स–साना समूहमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
उहाँका अनुसार गाउँको प्रवेशद्वारमा रहेको कार्यालयमा ‘थर्मल गन’बाट पर्यटकको ज्वरो मापन गरिन्छ । पर्यटकलाई मास्क अनिवार्य गरिएको छ । एउटा घरमा बढीमा दुई जनासम्म पर्यटक राखिने गरिएको उहाँले बताउनुभयो ।
‘पर्यटकलाई गाउँ भित्रने बित्तिक्कै ज्वरो मापन गरिन्छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले एउटा घरमा बढीमा दुई जनासम्म राखिएको छ ।’
उहाँका अनुसार कोरोनाका कारण लामो समयसम्म होमस्टे व्यवसाय ठप्प रहँदा होमस्टे सञ्चालकहरु समस्यामा परेका थिए । उहाँका अनुसार विगतमा सिजनको बेला होमस्टे सञ्चालकले मासिक ४५ हजार रुपैयाँसम्म कमाउँदै आएका थिए ।
घले गाउँमा विशेषगरी असोज, कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाखमा दैनिक सयौँका सङ्ख्यामा पर्यटक आउने गरेको ग्रामीण पर्यटन व्यवस्थापन समिति घले गाउँका सचिव उमल विकले बताउनुभयो ।
उहाँका अनुसार लामो समयपछि घले गाउँ खुलेसँगै विस्तारै पर्यटक आगमन भइरहेको छ । एक सय ३० घरधुरी रहेको लमजुङको क्वहोलासोँथर गाउँपालिका–३, घले गाउँमा अहिले ४० घरधुरीले होमस्टे सञ्चालन गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.