गोरखा अस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू कक्ष तयार

गाेरखा संसार
जेठ २६, गाेरखा ।
एकैचोटी १० जना कोरोनाका बिरामी देखिएपछि आइतबार गोरखा अस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू कक्ष तयार भएको छ ।
एउटा कोठामा भ्याण्टिलेटरसहितको र अर्को कोठामा बिनाभ्याण्टिलेटरको आइसियू कक्ष तयार गरिएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
९० लाख रुपैयाँको लागतमा दुईकोठे आइसियू तयार गरेको मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिए । पहिलो पटकको टेण्डर खारेज भएपछि दोस्रो पटक टेण्डर गरेर आइसियू कक्ष तयार गरिएको हो ।
साथै अस्पतालले १० जना अट्ने आइसोलेशन कक्ष पनि तयार गरेको छ । पाँचवटा कोठामा १० जना अट्ने गरी आइसोलेशन तयार गरिएको उनले बताए ।
अस्पताल भवनको भुइँतलामा दुई कोठे, नजिकैको अर्को भवनमा दुई कोठे आइसोलेशन तयार गरिएको हो । त्यहाँ आठ जना अटाउने क्षमता रहेको छ । त्यस्तै चौथो तलामा चार जना अट्ने आइसोलेशन तयार गरिएको मेसु थापाले बताए ।
आइसोलन कक्ष निर्माण भएपछि यसअघि चौथो तलामा रहेको लेखा शाखा, प्रशासन शाखा, स्टोर, गर्भजाँच कक्ष(एमसिएच), एचआईभी फलोअप(एआरटी) सेवा पुरानो भवनमा सारिएको अस्पतालले जनाएको छ ।
संक्रमितहरुलाई आइसोलेशनमा नर्सहरुको निगरानीमा राखिने र भुइँतलाका चार कोठामा सिसिटिभीबाट निगरानी हुने अस्पतालले जनाएको छ ।
आइसोलेशनमा गण्डकी गाउँपालिकाका नौ जना संक्रमित र प्रहरी हिरासतमा रहेका एक संक्रमित रहेका छन् ।
संक्रमित थपिएमा नजिकै रहेको वल्डक्यापिटल माविको आइसोलेशनमा राखिने अस्पतालले जनाएको छ । दुवै ठाउँमा गरी ३० जना अट्ने आइसोलेशन निर्माण गरिएको मेसु थापाले बताए ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.