Gorkha Sansar

असार १५ धान दिबस

असार १५ कुनै साधारण मिती होइन । यो नेपालीको मैलीक पर्ब सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको कृषकको आत्मा हो  । नेपाल कृषिप्रधान देश यहाँको जीवनशैली, संस्कार तथा चाडपर्वहरू अधिकांश कृषि प्रणालीसँगै गाँसिएका छन् । ।

त्यसैको एउटा उदाहरण हो– असार १५, जुन दिनलाई ‘धान दिवस’, ‘रोपाइँ महोत्सव’ ‘दही चिउरा खाने वा’हिलोमा पस्ने दिन भनेर पनि चिनिन्छ । यो केवल खेतमा रोपाइँ गर्ने ,दही, चिउरा खाने दिन मात्र नभएर सांस्कृतिक, आर्थिक, सामाजिक र वैज्ञानिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि : नेपालमा खेतीपाती हजारौं वर्षअघिदेखि गरिँदै आएको छ । प्राचीन संस्कृतिहरूमा पानी जीवनको आधार पनि हो ।

असार महिना नेपालमा वर्षा सुरु हुने महिना हो । असार १५  दिनभर पानी पर्ने उच्च सम्भावनाको दिन पनि हो । यही कारण किसानहरू परम्परागत रूपमा यही दिन धान रोप्ने शुभ दिनका रूपमा मनाउँछन् । यस दिन कृषक, विशेषगरी महिला र पुरुष खेतमा नाचगान, झ्याउरे र दोहोरी गीत गाउँदै धान रोप्ने परम्परा आज पनि धेरै ठाउँमा जीवितै छ । गाउँघरमा मान्छेहरूले एक–अर्कालाई हिलो दल्ने, रमाइलो गर्ने, अनि खेतैमा दही चिउरा खाएर असार १५ मनाउने चलन रहिआएको छ । यसलाई कतिपयले ‘किसानहरूको होली’ पनि भन्ने गर्छन् । किनभने यहाँ पनि एकअर्कालाई हिलो दल्ने चलन हुन्छ ।

कृषि वैज्ञानिकहरूका अनुसार धानको रोपाइँका लागि असार १५ वरिपरिको समय सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा दक्षिण–पूर्वी मनसुन असार लागेलगत्तै प्रवेश गर्छ । पानी पर्न थाल्छ । त्यसको केही दिनमै जमिन चिसो अनि माटो गिलो हुन्छ, जसले रोपाइँ गर्न सजिलो बनाउँछ । असार १५–२५ को समय रोपाइँको उत्तम समय हो । यो समयमा तापक्रम र आद्र्ता दुवै अनुकूल हुन्छ । असारमा रोपिएको धानलाई वर्षाको पानीले राम्रोसँग सिँचाइ गरिदिन्छ । ढिलो रोपाइँ गर्दा उत्पादनमा कमि आउँछ । केही अनुसन्धानहरूले देखाएका छन् कि असार मसान्तभन्दा ढिलो रोपिएको धानले २०–३० प्रतिशत उत्पादन घटाउँछ ।

अचेल खेतमा रोपाइँ गर्नु भन्दा पनि फोटो, भिडियो बनाउनमात्रै पनि गमलामा धान राोप्ने, दिवस मनाएको जस्तो गर्ने प्रवृत्ति बढेको देखिन्छ । यसले बाहिरी नजरमा सांस्कृतिक पक्ष जोगिए पनि वास्तविक कृषि श्रम घट्दो छ । त्यसैले, आज हामीले यस दिनको वैज्ञानिकता बुझ्दै, परम्परालाई आधुनिक प्रविधिसँग समेट्दै अगाडि बढ्न आवश्यक छ । कृषिमा लगानी, अनुसन्धान, र युवाको आकर्षण बढाउन आवश्यक छ । यो केवल पर्व मात्रै नभएर राष्ट्रिय गौरवको पर्व बनाउनुपर्छ । त्यसैले, असार १५ मनाऔं । खेतमा काम गरौं । प्रकृतिसँग रमाऔं । कृषकलाई सम्मान गरौं । र, आत्मनिर्भर नेपाल बनाऔं ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.