Gorkha Sansar

गोरखाको चुमनुब्रीमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार संयुक्त रुपमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन गरेका हुन् ।गाउँपालिकाको ११ लाख रुपैयाँ लागत, स्थानीयहरुको श्रमदान सहित सबै गरेर १३ लाखको लागतमा प्रहरी चौकी जगतको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । उनका अनुसार प्रहरी चौकी जगतले यसअघि भाडाको घरमा रहेर आफनो कार्य सम्पादन गर्दै आएको थियो ।

प्रहरीको आफनै भवन नहुँदा चिसो ठाउँमा कहिले पालमुनि समेत बस्नुपरेको थियो । हाल प्रहरी चौकी भवन सम्पन्न भइसकेको तर शौचालय भने निर्माण गर्न बाँकी रहेको उनले बताए । दुरदराजमा चौकीको नयाँ भवन बनेसँगै प्रहरीलाई नयाँ उर्जा र उमंगका साथ काम गर्न सजिलो हुने उनले बताए । नयाँ भवनमा बसेर काम गर्दा प्रहरीको मनोबल र आत्माबल पनि उच्च हुने र काम कारबाहीमा प्रभावकारी हुने उनले जानकारी दिए ।

यस अघिको भवन जीर्ण रहेको र काम गर्न पनि समस्या भएको बताउदै नयाँ भवन बनेसँगै प्रहरी र जनताको शान्ति सुरक्षा गर्न धेरै सहज भएको पालिका अध्यक्ष निमा लामाले बताए । योसँगै पालिकाको नामरुङ र जगत प्रहरीको आफनौ भवन भएका छन् ।

अव पालिकाको फिलिम, छेकम्पार र सामागाउँमा प्रहरी चौकीको भवन बनाउन बाँकी रहेको उनले बताए । यसका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसका लागि जग्गाको खोजी भइरहेको उनले बताए । त्यस्तै, विहि र चुम्चेत पनि प्रहरी चौकी निर्माणका लागि पालिकाले पहल गरिरहेको उनले बताए ।

पालिकाका अध्यक्ष लामाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एसपी केदार खनाल, इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रामजी देवकोटालगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.