Gorkha Sansar

गोरखादेखि काठमाडौंसम्म पृथ्वीनारायण शाह हिँडेको बाटोमा सेनाको पदयात्रा सुरु

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म सेनाले पदयात्रा गर्न लागेको छ।

पृथ्वी जयन्तीको अवसरमा सेनाले मंगलबारदेखि पदयात्रा सुरू गरेको र सेनाको टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन्। रणसिंह दल गणका अनुसार गोरखाबाट आज बिहान हिँडेको सेनाको टोली गोरखा दरबार-जोर चौतारो-ताप्ले-अश्राङ हुँदै बोर्लाङ पुग्नेछन्।

आज घाटवेशीमा उक्त टोली बास बस्ने कार्यक्रम छ। सेनाले पदयात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरू श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुजको झण्डा, राष्ट्रिय झण्डा तथा टर्चसहित सेनाहरू सहभागी हुनेछन्।

सेनाको गोरखास्थित उक्त टोलीले धादिङ सल्यान्टारका सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ। धादिङले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली नै काठमाडौं हनुमानढोका आउनेछ।

यो पदयात्रा गत वर्षदेखि सेनाले सुरू गरेको थियो। आज बिहान गोरखा दरबारमा पदयात्रा सुरूवात गर्ने कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नगरपालिकाकै तर्फबाट पृथ्वीजयन्ती गत वर्षदेखि मनाउन थालेको बताए।

‘पृथ्वीजयन्तीमा गोरखा नगरभित्र गत वर्षदेखि बिदा दिएर उत्सवका रूपमा मनाउन थालिएको छ,’ उनले भने, ‘पृथ्वीनारायण शाहप्रति सम्मान छ। एकीकरण पदमार्ग व्यवस्थित गर्न नेपाली सेना मात्र होइन, गोरखा, धादिङ र नुवाकोटका स्थानीय तहले पनि सहयोग गर्नुपर्छ।’ फाईल/तस्विर : सेतोपाटीबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.