नेपालगन्ज, साउन १४ । विश्व बाघ दिवस २०२६ को अवसरमा बाँके र बर्दियामा आयोजित कार्यक्रमहरूले बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्रमुख एजेन्डा बनाएका छन्। स्थानीय सरकार, वन कार्यालय, संरक्षण परियोजना तथा नागरिक समाजका प्रतिनिधिहरूले समुदायको सक्रिय सहभागिताविना बाघ संरक्षण दीगो हुन नसक्ने निष्कर्ष निकाल्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा बास नेपालको आयोजना तथा डिभिजन वन कार्यालय बाँके, राप्तीसोनारी गाउँपालिका, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा आयोजित अन्तरक्रियामा स्थानीय बासिन्दा र सरोकारवालाबीच मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले बाघ लगायतका वन्यजन्तुको संरक्षण र मानव सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताए। ताल परियोजना कोहलपुरका भरत प्रसाद भट्टले समुदायबाट प्राप्त सुझावलाई संरक्षण योजनामा समेट्दै व्यवहारिक रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ताल परियोजनाका प्रतिक शाह तथा इन्रुडेक कोहलपुरका विराट लामिछानेले पनि वन्यजन्तुसँगको सहअस्तित्वका लागि जनचेतना, पूर्वतयारी र स्थानीय सहभागिता अपरिहार्य रहेको धारणा राखेका थिए।
अन्तरक्रियाको प्रारम्भमा बास नेपालका निर्देशक हेमराज भट्टले विश्व बाघ दिवसको इतिहास, बाँके राष्ट्रिय निकुञ्जको स्थापना, नेपालमा बाघ संरक्षणका उपलब्धि तथा वर्तमान चुनौतीबारे प्रस्तुति दिएका थिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी, स्थानीय बासिन्दा तथा सरोकारवालासहित ८२ जनाको सहभागिता रहेको थियो।
यसैबीच, विश्व बाघ दिवसकै अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराको आयोजना तथा बास नेपालसहित विभिन्न संस्थाको सहकार्यमा बर्दियाको ठाकुरद्वारामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा बाघ संरक्षण, जैविक विविधता संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रभावकारी उपायबारे छलफल गर्दै संरक्षण अभियानलाई समुदायसँग अझ नजिकबाट जोड्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
विश्व बाघ दिवसका अवसरमा बाँके र बर्दियामा सम्पन्न यी कार्यक्रमहरूले बाघ संरक्षण केवल वन प्रशासनको जिम्मेवारी नभई समुदाय, स्थानीय सरकार र सरोकारवाला सबैको साझा दायित्व भएको सन्देश प्रवाह गरेका छन्।