Gorkha Sansar

नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा

नेपालगन्ज, चैत्र १५ —

बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोजनामा नरैनापुर–४ स्थित रंगशालामा कार्यक्रम आयोजना गरिएको हो।

सुनुवाई कार्यक्रममा सरोकारवाला तथा स्थानीय सहभागीसँग दोहोरो प्रश्नोत्तरपछि पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ। घोषणा गरिएका प्रतिबद्धतामा गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत निर्णय गरी कार्यपालिकामा पेश गर्ने, विद्यालय व्यवस्थापन समिति चयन गर्दा सबै अभिभावकलाई जानकारी दिने व्यवस्था गर्ने, नरैनापुर–४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गर्ने लगायत रहेका छन्।

त्यस्तै, धारा तथा बोरिङ आवश्यकताको आधारमा वितरण कार्य अघि बढाउने, सडक निर्माण गर्दा नाला व्यवस्थापन अनिवार्य गर्ने, योजनाको प्रभावकारी अनुगमन गर्ने तथा सडक अतिक्रमण हटाउने विषयमा समेत प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्देश्य स्पष्ट पार्दै नागरिक प्रतिवेदन पत्र तथा बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले चालु आर्थिक वर्षका प्रगतिका गतिविधिहरू प्रस्तुत गरेका थिए।

सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए भने स्वागत मन्तव्य गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले दिएका थिए।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई आयोजना गरी आफ्नो प्रगति सार्वजनिक गर्नुका साथै नागरिकलाई प्रश्न राख्ने अवसर दिएकोमा खुशी व्यक्त गरेका थिए। सहभागीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा लक्षित वर्ग उत्थान कार्यक्रमका विषयमा खुला रूपमा जिज्ञासा राखेका थिए, जसको जवाफ सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरूले दिएका थिए।

कार्यक्रममा १६० भन्दा बढीको सहभागिता रहेको थियो।

मुख्य ५ बुँदा:

  1. गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत प्रस्ताव अघि बढाइने।
  2. विद्यालय व्यवस्थापन समिति चयन गर्दा अभिभावकलाई सार्वजनिक सूचना दिइने।
  3. नरैनापुर–४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालन गरिने।
  4. धारा तथा बोरिङ आवश्यकताको आधारमा वितरण कार्य सुरु गरिने।
  5. सडक निर्माणमा नाला अनिवार्य, अतिक्रमण हटाउने र योजनाको प्रभावकारी अनुगमन गरिने।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.