पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली गोरखास्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सतायु महापुरुष, उभयवेदान्त प्रवर्तक आचार्य त्रिदण्डी पराङ्कुस रामानुजजियार स्वामीजी महाराजको शुभ मंगलनुशासनमा पाल्पा जन्मस्थानभई बाल्यकालदेखि नै भारतका विभिन्न स्थानमा रहेर संस्कृत वाङ्गमय र दाक्षिणात्य वाङ्गमयको सर्वाङ्गीण ज्ञान प्राप्त गर्नुभएका मुर्धन्य विद्वान् उभयवेदान्त प्रवर्तकाचार्य श्रीकृष्णमाचार्य स्वामीजी महाराजको प्रमुख आतिथ्यतामा बृहद् बाल शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ओंकार योग आयुर्वेद गुरुकुलका संस्थापक आचार्य गोविन्द रेग्मीले अध्यक्षता गर्नु भएको थियो भने लक्ष्मणाचार्य स्वामीजी, नारायणाचार्य स्वामीजी एवं अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथावाचक डाक्टर स्वामी चक्रपाणी आचार्यजी महाराजले आफ्नो मन्तव्य दिनु भएको थियो।
उक्त
कार्यक्रममा मनास्लु बोर्डिङ स्कुल, फिस्टेल बोर्डिङ स्कुल, पवित्रा मा.वि.,जीवन ज्योति माध्यमिक विद्यालयलगायतका विद्यालयहरूबाट सयौँको सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। दमौली सत्सङ्ग परिवार दमौलीबाट पनि सयौँ भक्तजनहरूको उपस्थिति भएको थियो भने चितवन श्री वैष्णव परिषदबाट स्वामीजीहरूका साथमा श्रीवैष्णव परिषद्को सम्योजनमा भक्तजनहरूको आगमन भएको थियो । उक्त कार्यक्रमले बालबालिकाहरूमा आध्यात्मिक शिक्षा भए मात्रै सिकाइ साङोपाङ्ग सर्वाङ्गीण हुने र राष्ट्रप्रतिको गौरव बोध हुने कुरा कार्यक्रमका वक्ताहरूले बताउनुभयो सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्णमाचार्य स्वामीजीले नेपाल देवदेश हो साथै वैदिक वांमयका प्रणेता अठार पुराणका रचयिता महर्षी वेदव्यासको प्राकट्य भूमि पनि हो । त्यस्ता महर्षी वेदव्यासको प्राकट्य भूमि र बन्दिपुरमा स्थित सिद्ध गुफा जो एसियाकै ठुलो र विश्वकै दोस्रो ठुलो गुफा मानिन्छ, त्यस्तो पवित्र गुफा जहाँ महर्षी वेदव्यासले तपस्या गरेर सिद्धि प्राप्त गर्नुभएको थियो उक्त सिद्ध गुफाको काखमा रहेको ओंकार योग आयुर्वेद गुरुकुलले अब मुक्तिनाथ जाने तमाम तीर्थालुहरू र विशिष्ट आचार्यहरूको समेट सेवा गर्ने सौभाग्य प्राप्त हुनेछ। आगामी दिनमा भारतका पनि विभिन्न ठाउँबाट मुक्तिनाथ तीर्थ यात्रा गर्ने तीर्थालुहरूलाई आफुले गुरुकुलमा जोड्नका लागि सहयोग पुर्याउने समेत वचन व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बाल्यकालदेखि नै आध्यात्मिक एवं धार्मिक अभियान सञ्चालन गर्ने गुरुकुलका संस्थापक आचार्यजीले युवा अवस्थामा नै गुरुकुल स्थापना गरि वैदिक वाङ्मय रक्षाको संकल्प लिएको हुनाले यसमा सबै संस्कृत बाङ्मयलाई माया गर्ने व्यक्तिहरूले हातेमालो गरेर अगाडि बढ्न सके यो संस्थाले राष्ट्रिय स्तरमा नै वैदिक जागरणका लागि ठुलो योगदान पुऱ्याउन सक्ने समेत उहाँले विचार व्यक्त गर्नुभयो।
पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव
