दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लास्थित सञ्चारकर्मीहरुलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
शाखाको आज बसेको बैठकले सबै सञ्चारकर्मीलाई राजनीतिक दलको प्रचारप्रसार नगर्न, उम्मेदवारको पक्ष र विपक्षमा नरही तटस्थ, निष्पक्ष रुपमा रिपोटिङ गर्न आग्रह गर्ने निर्णय गरेको छ । साथै महासंघका सदस्यहरुले उम्मेदवारको पक्षमा प्रचारप्रसार गरे नगरेको शाखाका तर्फबाट अनुगमन गर्ने निर्णय भएको जनाइएको छ । बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला पक्षहरुलाई अनुरोध गरेको छ ।
यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा भवन मर्मतका लागि नेपाल पत्रकार महासंघ तनहुँलाई रु दश लाख बजेट प्राप्त भएकामा एकीकृत सेवा कार्यालय तनहुँको इष्टमेट अनुसार काम अगाडी बढाउने निर्णय भएको शाखाले जनाएको छ ।
