तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बुढीदेवी मन्दिरको पुनर्निर्माण र बृहत्तर विकासका लागि महायज्ञ गरिने भएको छ । छिम्केश्वरी पर्यटन विकास समितिले आइतबार आँबुखैरेनीमा पत्रकार सम्मेलन गरी मन्दिरको पुनःस्थापना र क्षेत्र विकासका लागि महायज्ञ गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार आँबुखैरेनी गाउँपालिका–३ हाटबजारमा कात्तिक ८ देखि १५ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिनेछ । यसमा पण्डित दिनबन्धु पोख्रेलले प्रवचन दिनुहुनेछ ।” महायज्ञबाट सङ्कलित रकम मन्दिरको पुनर्निर्माण र क्षेत्र विकासका लागि प्रयोग गरिने छ । १० करोड रुपियाँ संकलन गर्ने लक्ष्य राखिएको तामाङ बताउनुहुन्छ । छिम्केश्वरी–बुढीदेवी मन्दिर समुद्र सतहबाट २,१३४ मिटर उचाइमा रहेको छ । मन्दिरमा गोरखा मनकामनाकी दिदी बुढीदेवी र छिम्केश्वरी माईको पूजा गरिन्छ। स्थानीय विश्वास अनुसार यहाँ पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । पछिल्ला वर्षमा मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास हुँदै आएको छ । छिम्केश्वरीमा पुग्न सडक स्तरोन्नती भइसकेको छ, जसले आन्तरिक पर्यटकको आकर्षण बढाएको छ । पर्यटकहरूले यहाँबाट पहाडी र ग्रामीण वातावरणको रमाइलो अनुभव गर्न सक्नेछन् ।
समितिका अनुसार, मन्दिर क्षेत्र वार्षिक रूपमा करिब एक लाख पर्यटकले भ्रमण गर्ने गरेका छन्। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, बुद्ध, अन्नपूर्ण, मनास्लु लगायतका हिमालहरूको मनोरम दृश्य पर्यटकको मन लोभ्याउँछ ।