दशैं सुरु, आज घटस्थापना: घर–घरमा वैदिक विधिपूर्वक जमरा राखिँदै
काठमाडौं, ६ असोज । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि औपचारिक रूपमा सुरु भएको छ । पहिलो दिन घटस्थापनाका अवसरमा घर–घरमा वैदिक परम्पराअनुसार कलश, गणेश र जमरा स्थापना गरिँदैछ ।
बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइन्छ। आज पवित्र नदी वा चोखो स्थलबाट ल्याइएको माटोमा जौ छरेर जमरा राख्ने प्रथा छ । जौको जमरा देवी दुर्गालाई अर्पण गरी विजया दशमीका दिन टीका प्रसादसहित ग्रहण गरिन्छ जसलाई समृद्धिको प्रतीक मानिन्छ ।
धार्मिक परम्परा अनुसार जौबाहेक गहुँ वा मकैको जमरा राख्ने शास्त्रीय विधि छैन । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूप—शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म—को पूजा गरिने चलन छ । सातौं दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन विशेष पूजा र बलि चढाइने गरिन्छ ।
नवरात्रभर देशभरका शक्तिपीठ र देवी मन्दिरहरू जस्तै नक्साल भगवती, पलाञ्चोक भगवती, भद्रकाली र मैतीदेवीमा दर्शनार्थीहरूको भीड लाग्ने गर्छ । दशैंलाई असत्यमाथि सत्यको विजय र दैवी शक्तिको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
यस वर्ष टीका असोज १६ गते परेके छ ।