काठमाडौं, ४ असोज । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर १२ चक्के वा सोभन्दा ठूला भारवाहन सञ्चालन रोक्ने निर्णय गरिएको छ ।
शनिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको छलफलपछि यो निर्णय गरिएको हो। दशैंका समयमा यात्रुबाहक सवारी साधनहरूको चाप बढ्ने भएकाले ठूला भारवाहनलाई रोक लगाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई भने अवरोध नगरी सञ्चालनको व्यवस्था गरिनेछ ।
गत असारमा पनि वर्षापछि हिलोका कारण यही सडकखण्डमा दुई दिनसम्म यातायात अवरुद्ध भएको अनुभव रहेकाले यो कदम चाँडै लागू गर्न लागिएको हो ।