काठमाडौं, १ असोज । जेन–जी आन्दोलनपश्चात भएको आगलागीले क्षतिग्रस्त संसद भवनको बुधबार तीन मन्त्रीहरूले स्थल अवलोकन गरेका छन् ।
ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल बुधबार बिहान क्षतिग्रस्त भवनमा पुगेका हुन्। उनीहरूले भवनको वरिपरि र भित्रको जलेर नष्ट भएको संरचना निरीक्षण गरी सुरक्षाकर्मी र प्राविधिकहरूसँग क्षतिको विवरणबारे जानकारी लिए ।
भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली चलाएपछि त्यसको भोलिपल्ट आन्दोलनकारीहरूले संसद भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवनभित्रका कागजात, फर्निचर र इलेक्ट्रोनिक उपकरण जलेर नष्ट भएका छन् ।
मन्त्रीत्रयले भवन मर्मत तथा पुनःनिर्माणका लागि तत्काल मूल्याङ्कन र योजनाबद्ध काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सुरक्षा व्यवस्था बलियो बनाउन र यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर रहेको उनीहरूले बताएका छन् ।