Gorkha Sansar

लुम्बिनी प्रदेशले जेन–जी आन्दोलनबाट भएको क्षति सार्वजनिक गर्यो

बुटवल, ०१ असाेज । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । निमित्त प्रमुख सचिव लिलाधर सुवेदीका अनुसार, आन्दोलनका क्रममा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय पूर्णरूपमा जलेर नष्ट भएको छ । कार्यालयका कागजात र सामानहरू समेत जलेका छन् ।

बुटवलकै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सम्पर्क कार्यालयमा व्यापक क्षति पुगेको छ भने भैंसीपाटीस्थित मुख्यमन्त्री निवास र तीन गाडी जलेका छन्। दाङको भौतिक पूर्वाधार विकास मन्त्रीको निवास, रुपन्देहीको सहरी विकास तथा भवन कार्यालयको मोटरसाइकल, दाङ र आर्घाखाँचीका सडक कार्यालयहरू, र विभिन्न मन्त्रालय मातहतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

यातायात व्यवस्था कार्यालय (रुपन्देही, बाँके, दाङ), उद्योग तथा उपभोक्ता हित निर्देशनालय भैरहवा, घरेलु तथा साना उद्योग कार्यालय दाङ, पर्यटन डिभिजन कार्यालय भैरहवा, र बाँके जमुनाह पर्यटन सूचना केन्द्रमा पूर्णरूपमा क्षति पुगेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय मातहतको बुटवलस्थित प्रदेश लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। प्रदेश लोक सेवा आयोग पूर्णरूपमा नष्ट हुनुका साथै ६ वटा गाडी जलेका छन् ।

सुवेदीका अनुसार, आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सामाजिक विकास मन्त्रालय मातहतका कार्यालयहरू भने सुरक्षित छन्। अन्तिम क्षतिको विवरण संकलन कार्य जारी छ र क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.