Gorkha Sansar

नेतृत्वविहीन तर शक्तिशाली: जेन-जी पुस्ताको स्वतःस्फूर्त आन्दोलन

काठमाडौं, २६ भदौ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आक्रोशबाट सुरु भएको जेन-जी पुस्ताको आन्दोलन नेतृत्वविहीन जस्तो देखिएको छ। रेडिट र डिस्कर्ड जस्ता वैकल्पिक प्लेटफर्ममार्फत गत शुक्रबार यो आन्दोलनको मिति र स्थान प्रचारित भए पनि आयोजक वा स्पष्ट नेतृत्व सार्वजनिक भएन ।
शुक्रबारभित्रै रेडिटका नेपाल कम्युनिटीहरूमा ८ सेप्टेम्बर बिहान देशव्यापी प्रदर्शनको ग्राफिक्स भाइरल भइसकेको थियो । तर पोस्ट गर्ने धेरै अकाउन्ट नयाँ थिए, केही पछि डिलिट समेत भए। शनिबारदेखि फेसबुक, इन्स्टाग्राम र टिकटकमा समाचार र ग्राफिक्स छर्दै आन्दोलनको खबर छरियो ।
आईएनआरजी नामक समूह र ‘युवा हब’ भन्ने डिस्कर्ड कम्युनिटीमार्फत करिब १५०० सदस्य जोडिँदा पनि को–कसले नेतृत्व लिँदैछन् भन्ने स्पष्ट थिएन। पछि ग्रुपको नाम ‘जेनजी जेड नेपाल’ बनाइयो, तर आईएनआरजी समूह हराएजस्तै भयो ।
यसबीचमा केही राजनैतिक समूहका नाम जोडिँदा र दुर्गा प्रसाईं सहभागी हुने खबर आउँदा प्लेटफर्महरूमा तीव्र विरोध भयो। कतिपय मिडियाले व्यक्तिहरूलाई नेतृत्वकर्ता भन्दै समाचार दिए पनि अधिकांश सहभागीहरूले यस्तो दाबी अस्वीकार गरे । अन्ततः ‘जेनजी नेपाल’ नामको नयाँ पेज देखिए पनि यसको आधिकारिकता विवादास्पद छ ।
सामाजिक सञ्जाल बन्द, सरकारी अव्यवस्था र ‘नेपो बेबी’ ट्रेन्डप्रति असन्तुष्ट जेन-जी युवाहरूको स्वस्फूर्त आह्वान मानिएको यो आन्दोलन अझै नेतृत्वविहीन छ कि कुनै समूहले ‘जेनजी कार्ड’ खेलेको हो भन्ने प्रश्न अनुत्तरित छ । समयसँगै यसको वास्तविक पृष्ठभूमि प्रस्टिने अपेक्षा गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.