२५ भदौ, काठमाडौं । मंगलबार प्रदर्शनकारीले राज्यका तीनै अंगका भवन र महत्त्वपूर्ण सरकारी कार्यालयहरूमा आगजनी गरेपछि ऐतिहासिक दस्तावेजहरूको विनाश मुलुकका लागि ठूलो क्षति भएको विज्ञहरूले बताएका छन् ।
अध्येता जगत नेपालका अनुसार, यो घटना वि.सं. २०३० सालको असार २४ गते सिंहदरबारमा भएको आगलागीभन्दा पनि गम्भीर छ। “त्यसबेला अन्जानवश आगलागी भएको भनिएको थियो र राज्यले नियन्त्रण गर्न सक्थ्यो। यसपटक भने आगो निभाउने कोही भएन,” नेपाल भन्छन् ।
उनले स्मरण गरे कि २०३० सालको आगलागीपछि सुगौली सन्धि जलेको भनाइ चलेको थियो, जसले नेपालको कूटनीतिक इतिहासमा खाल्डो पारेको थियो। “यो पटक कति महत्त्वपूर्ण कागजात हराए होलान् भन्ने अनुमान बाहिर छ,” उनले थपे ।
नेपालले चेतावनी दिएका छन्, “कतिपय सरकारी कागजातहरू ३०/४० वर्षपछि मात्र सार्वजनिक गर्ने खालका हुन्छन्। ती हराए भने भोलिको पुस्ताले इतिहास खोज्दा भेट्दैनन्। मौखिक कुराले हुँदैन—कागजात नहुँदा नेपाल पछि पर्छ ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास, राष्ट्रपति निवास शीतल निवास, र सर्वोच्च अदालत जस्ता स्थानमा राखिएका महत्त्वपूर्ण अभिलेखहरू जलेका छन् ।