काठमाडौं, ११ भदौ – नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्ना दिँदै महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ । कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहनेछ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमाले कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्र कार्यालय पेरिसडाँडामा पनि धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
शिक्षक महासंघले सरकारसँग विगतका वर्षहरूमा (२०७५, २०७८, २०८० र २०८१–८२) भएका सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ । २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेका ९ बुँदासमेत अझै लागू नभएको महासंघको भनाइ छ ।
महासंघका प्रमुख मागहरूः
- विद्यालय शिक्षा विधेयक विगतका सहमति अनुसार संशोधन गर्नुपर्ने।
- अस्थायी शिक्षकको पदपूर्ति ७५% आन्तरिक प्रतिस्पर्धा र २५% खुला गर्नुपर्ने (विधेयकमा ६०–४० व्यवस्था गरिएकोप्रति असन्तुष्टि) ।
- स्थायी शिक्षकको आवधिक बढुवा, अस्थायी अवधिको गणना र अध्यापन अनुमतिपत्रको म्याद थप्नुपर्ने ।
- शिक्षक विभागीय कारबाही, विद्यालय कर्मचारीको पद–वेतन, बालकक्षा शिक्षकको सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने ।
- संस्थागत विद्यालयका शिक्षकको सेवा र सरुवा प्रणाली व्यावहारिक बनाउनुपर्ने ।
- शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था सच्याउनुपर्ने ।
- शिक्षण काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व राख्नुपर्ने ।
महासंघले सम्बोधन नभएका सबै विषयहरूलाई प्रतिवेदनमा समावेश गरी सहमति अनुसार प्रतिनिधि सभामा पेस गर्न सरकारलाई आग्रह गरेको छ ।