लघुवित्तलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने अनुमति
काठमाडौं – अब लघुवित्त वित्तीय संस्थाहरूले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।
यसअघि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तलाई १५ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्ने सीमा तोकेका थिए । तर, हाल गभर्नर विश्व पौडेलले ल्याएको मौद्रिक नीतिअनुसार सो सीमा बढाएर २५ प्रतिशतसम्म गरिएको हो ।
लाभांश वितरणका लागि राष्ट्र बैंकले निश्चित सर्त पनि तोकेको छः
- निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुने संस्थाले अधिकतम २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।
- ५ देखि १० प्रतिशत निष्कृय कर्जा अनुपात हुनेले २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् ।
- १० प्रतिशतभन्दा बढी निष्कृय कर्जा अनुपात हुने संस्थाले भने अधिकतम १५ प्रतिशत लाभांश मात्र वितरण गर्न पाउनेछन् ।
यस्तै, लाभांश वितरणपछि लघुवित्तहरूको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।