बैतडी, ६ भाद्र । भारतसँग खुला सीमा जोडिएको बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात छ।
प्रहरीका प्रवक्ता बलराम पाण्डेयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १०५ जना हराएकामध्ये ९१ जना फेला परे तर १४ जना अझै हराइरहेका छन्। त्यसैगरी, २०८०/८१ मा ११५ हराएकामध्ये ११३ जना भेटिए भने २०८१/८२ मा अहिलेसम्म १२२ हराएकामध्ये ८६ जना मात्रै भेटिएका छन्।
गत आवको तथ्याङ्कअनुसार मात्र ५५ महिला, २७ बालक, २९ बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता भएकोमा ८६ जना मात्र फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीको भनाइमा, हराएकाबेला निवेदन दिए पनि फेला परेका व्यक्तिको जानकारी नदिने प्रवृत्तिका कारण पनि तथ्याङ्क बढी देखिएको छ। साथै, खुला सीमा भएकाले धेरैजसो बेपत्ता व्यक्ति भारततर्फ पुगेको वा उतै बस्ने गरेको अनुमान गरिएको छ।
सामाजिक सञ्जालको दुरुपयोग र सानै उमेरमा भारततर्फ जाने प्रयास पनि बेपत्ता हुने कारणमध्ये प्रमुख रहेको प्रहरीको भनाइ छ। प्रहरीले पछिल्लो आवमा मात्रै पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइसकेको छ।