काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर छ तर बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण केही स्थानमा वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड र तराईका केही स्थान तथा मधेसका केही तराई क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ । विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
आज राति पनि कोशी र गण्डकीका पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्र आंशिक बदली रहनेछ । कोशी प्रदेशका पहाडी र तराई भूभागमा केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ ।