कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ।
आज बिहान ११ बजे गरिएको मापन अनुसार महाकालीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानी बगिरहेको पाइएको थियो । बाढी मापन केन्द्रका अनुसार पानीको बहाव १ लाख क्यूसेक नाघेपछि यो खतराको स्तर मानिने भएकाले सुरक्षाका कारण पुल बन्द गरिएको हो ।
भारततर्फको शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै आगामी केही घण्टासम्म अझै वर्षा हुने सम्भावना रहेको र नदीको बहाव थप बढ्न सक्ने चेतावनी दिएको छ । सूचनामा अत्यावश्यक बाहेकको यात्रामा रोक लगाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित भएकाले वर्षाको सम्भावना अझै कायम छ ।