काठमाडौं, २५ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्यो ।
यस जितसँगै तीनै खेल जितेको उत्तर कोरिया ९ अंकसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने अन्तिम चरणमा पुगेको छ । साविक विजेता उत्तर कोरियाले छनोटमा ३६ गोल गर्दा कुनै गोल खाएको छैन ।
नेपालले यसअघि भुटानसँग १–१ को बराबरी र साउदी अरेबियाविरुद्ध १–० को जित निकालेको थियो। तीन खेलबाट ४ अंकसहित नेपाल समूहको तेस्रो स्थानमा रह्यो ।
प्रतियोगिताको नियमअनुसार समूह विजेता र उत्कृष्ट तीन उपविजेता मात्र अन्तिम चरणमा पुग्ने भएकाले नेपालको छनोट सम्भावना समाप्त भएको हो ।