बुटवल ,२२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा जिल्ला कारागारमा भेटेका छन्।
लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा सहभागी हुन जाँदै गर्दा आज बिहान भट्टराईले लामिछानेलाई भेटेका हुन्।
भेटपछिको संक्षिप्त पत्रकार भेटमा भट्टराईले लामिछानेलाई थुना बाहिरै मुद्दा लड्न दिनुपर्ने बताएका छन्। “रवि लामिछाने निर्वाचित सांसद हुन्, भाग्ने वा थप अपराध गर्ने सम्भावना छैन,” उनले भने, “त्यसैले उनलाई जमानतमा रिहा गरेर बाहिरै मुद्दा फेस गर्न दिनुपर्छ।”
भट्टराईका अनुसार उनले सभामुखसँग दुईवटा विकल्प अघि सारेका छन्—या त रविलाई बाहिर निकालेर जनताको सेवा गर्न दिनु, या सांसद पद खारेज गरेर पुनः निर्वाचन गराउनु।
कारागारमा लामिछानेलाई पत्रपत्रिका नदिएको र एक्लै कोठामा राखिएको देखेर उनले चिन्ता व्यक्त गरे। “सूचनाबाट बञ्चित गरिनु दुःखद हो,” उनले भने, “पञ्चायत कालमा पनि पढ्न पाइन्थ्यो। प्रहरीसँग सोध्दा यस्तो आदेश नभएको बताए।”
भट्टराईले लामिछानेलाई राखिएको कोठा साँघुरो रहेको पनि बताए। “जेल भनेको खुला ठाउँ हुनुपर्छ भन्ने लाग्छ,” उनले भने, “म यसबारे सम्बन्धित निकायमा कुरा राख्नेछु।”
रविलाई राजनीतिक बन्दीका रूपमा सद्भाव प्रकट गर्न आएको बताएका भट्टराईले सरकारको रविमा प्रतिशोध रहेको भन्दै न्यायको पक्षमा आफूले हस्ताक्षरसमेत गरिसकेको जानकारी दिए।