काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्रै १ करोड ६७ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ ।
गत असार २९ गते त्रिविले अध्ययन बिदा लिएर अध्ययन नगरेका वा विदेश गएर नफर्किएका शिक्षक–कर्मचारीलाई ३५ दिनभित्र ब्याजसहित रकम फिर्ता गर्न निर्देशन दिएको थियो । यस अवधिमा ५ जनाले रकम बुझाइसकेका छन् भने ६० जनाभन्दा बढी तिर्ने तयारीमा सम्पर्कमा आएका छन् ।
फिर्ता गरिएको रकम विवरण:
- मित्रमणि सुवेदी – ४३ लाख १४ हजार
- हिमा कुमारी राउत – ४४ लाख ७३ हजार
- रिना श्रेष्ठ – ९ लाख ७५ हजार
- पुष्पराज आचार्य – ३६ लाख ५२ हजार
- ज्ञानप्रसाद गौतम – ३३ लाख ४२ हजार
त्रिवि कर्मचारी प्रशासन महाशाखाका अनुसार, यीमध्ये अधिकांश अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापक हुन्। रिना श्रेष्ठ भने फर्किए पनि तोकिएको सेवा अवधि पुरा नगरेको पाइएकी छन् ।
त्रिविको सेवासम्बन्धी नियम २०५० अनुसार, ३ वर्षको अध्ययन बिदा लिएका प्राध्यापकले फर्किएर कम्तीमा ३ वर्ष, र ५ वर्ष बिदा लिएकाले कम्तीमा ५ वर्ष त्रिविमा सेवा गर्नुपर्छ । यो नियम पालना नगरेमा बिदासम्बन्धी सबै खर्च ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था छ ।