Gorkha Sansar

उत्तराखण्डको उत्तरकाशीमा भीषण वर्षापछि बाढी: ४ जनाको ज्यान गयो, ५० बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लामा आएको भीषण वर्षापछि आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भीषण बाढीका कारण हालसम्म ४ जनाको ज्यान गएको पुष्टि गरिएको छ भने अझै ५० जना बेपत्ता छन् ।

उत्तरकाशीका जिलाधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार, बाढीसँगै आएको लेदो र माटोले स्थानीय भौतिक संरचना ध्वस्त पारेको छ । घर, होटल, सडक र बजार क्षेत्र व्यापक रूपमा प्रभावित भएको बताइएको छ ।

घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत शोक प्रकट गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन् । उनले उद्धार र राहतका लागि उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

बाढी विशेषगरी हर्षिल नजिकैको धराली गाउँमा केन्द्रित भएको थियो, जुन भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर दूरीमा पर्छ । खीर गढ नालीमा आएको बाढीले गंगोत्री धामतर्फ जाने सबै सडक सम्पर्क पूर्णरूपमा विच्छेद गरेको छ ।

एक प्रत्यक्षदर्शीले भारतीय सञ्चारमाध्यमहरूलाई भनेका छन्, “होटलदेखि बजारसम्म सबै नष्ट भएको छ । यस्तो कहालीलाग्दो दृश्य मैले जीवनमा पहिले कहिल्यै देखेको थिइनँ ।”

बाढी प्रभावित क्षेत्रमा प्रहरीले राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF), राज्य विपद् प्रतिक्रिया बल (SDRF), सेना लगायतका उद्धार टोलीहरू परिचालन गरिसकेको छ। हालसम्म भारतीय सेनाले कम्तीमा १५ जनाको उद्धार गरिसकेको जनाएको छ ।

अधिकारिहरूले अझै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । मौसमविद्हरूले आगामी केही दिन उत्तराखण्डमा अझै भारी वर्षाको सम्भावना रहेको जनाएका छन्, जसले परिस्थितिलाई थप जटिल बनाउन सक्ने देखिन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.