बारा – बारा जिल्लाको बालगंगा खोला किनारमा दलित तथा विपन्न वर्गका लागि घर निर्माण भइरहेकाेमा त्यसको जोखिमपूर्ण अवस्थालाई लिएर स्थानीय तहले आपत्ति जनाउँदै निर्माण कार्य तत्काल रोक्न माग गरेका छन् ।
मधेस प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, कलैयाले ‘मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत जीतपुरसिमरा-१५ मा खोलापारी १३ वटा घर निर्माण गरिरहेको छ । तर, उक्त निर्माणकार्य खोलाको जोखिमपूर्ण क्षेत्रमा भइरहेको भन्दै वडा नं १५ कार्यालयले तत्काल रोक्न पत्राचार गरेको छ ।
वडाध्यक्ष रामप्रसाद लामिछानेका अनुसार, खोलाको नक्सामा पर्ने बाढी प्रभावित क्षेत्रमा अनुमति नलिई निर्माण कार्य थालिएको हो । “गत वर्ष ठुलो बाढी आएको थियो, त्यहाँ घर बनाइए ठूलो मानवीय जोखिम निम्तिन सक्छ,” उनले बताए ।
वडाले लेखेको पत्रमा भनिएको छ, “सरकारी बजेटको दुरुपयोग र जनधनको क्षति हुने गरी खोलाको किनारमा घर निर्माण भइरहेकाले तत्काल रोक्न अनुरोध गरिन्छ। अन्यथा भविष्यमा हुने क्षतिको जिम्मेवारी पूर्वाधार कार्यालयले लिनुपर्छ ।”
वडा नं १६ को सिफारिसमार्फत सीमाभित्र निर्माण थालिएको आरोप पनि वडा नं १५ ले लगाएको छ । ‘हाम्रो क्षेत्रभित्र १६ नं वडा कार्यालयको सिफारिस लिई गोप्यरूपमा निर्माण गरिएको छ,’ वडाध्यक्ष लामिछानेले भने ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जीतपुरसिमरा उपमहानगरपालिकालाई समेत जानकारी गराइएको छ ।
स्थानीयवासी विष्णु अधिकारीले दलित वर्गका लागि सुरक्षित ठाउँमा दीर्घकालीन समाधानसहित घर बनाइनुपर्नेमा जोड दिए। अर्का स्थानीय प्रविन प्रसाद मिश्रले प्राविधिक अध्ययन नगरी निर्माण थालिनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे ।
उक्त आवास योजनाअन्तर्गत सरकारले प्रतिघर ५ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको भए पनि निर्माण कम्पनीले प्रतिघर लागत ३ लाख ५० हजार रुपैयाँ रहेको जनाएको छ ।
पूर्वाधार विकास कार्यालयकी निमित्त प्रमुख रिम्पु यादवले मन्त्रालयको भ्रमणबाट फर्किएपछि अनुगमन गरी जोखिम भएको पाइए तत्काल निर्माण रोक्ने बताइन् ।