उखु अनुदान रोकिँदा किसान आक्रोशित, भदौ ८ देखि आन्दोलनको चेतावनी

रौतहट, गत आर्थिक वर्षको उखु अनुदान रकम अझै नपाएपछि रौतहटका किसानहरू आक्रोशित भएका छन् । सरकारले असार मसान्तभित्र भुक्तानी दिने वाचा गरे पनि प्रति क्विन्टल ७० रुपैयाँ दरको १ अर्ब ६० करोड रुपैयाँको अनुदान रकम अहिलेसम्म नछुट्टाइएको भन्दै किसानहरूले साउन महिनाभित्र रकम उपलब्ध गराउन सरकारलाई अल्टिमेटम दिएका छन् ।
रौतहट उखु उत्पादक संघले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै साउन मसान्तसम्म भुक्तानी नआए भदौ ८ गतेदेखि काठमाडौंमा चरणबद्ध आन्दोलन सुरू गर्ने चेतावनी दिएको छ ।
संघका अध्यक्ष अशोकप्रसाद यादव नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रबारे सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिएका छन् ।
यसबाहेक, सरकारले चालू आर्थिक वर्षदेखि उखुमा दिँदै आएको अनुदान पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेपछि किसानहरू थप आक्रोशित बनेका छन् । गरुडाका मेयरका प्रत्याशी तथा किसान अगुवा बृजकिशोर यादवका अनुसार, अनुदान कटौती भएमा उखु उत्पादनमा गिरावट आउने र त्यसले विदेशी चिनी आयात गर्नुपर्ने अवस्था सिर्जना गर्ने खतरा देखिएको छ ।
किसानहरूले विरोधस्वरूप साउन महिनामै चिनी मिल, गरुडाको गेटअगाडि टायर बालेर प्रदर्शन गर्ने र भदौ ८ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।