नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा विश्व दोस्रो स्थानमा उक्लिएका छन्।
एक स्थान उक्लिंदै दीपेन्द्र दोस्रो स्थानमा पुगेका हुन्। यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेस सात स्थान तल झर्दै नवौं स्थानमा झरेपछि दीपेन्द्रले दोस्रो स्थान ओगटेका हुन्।
टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान घटेको छ। यद्यपि, कुशल भुर्तेल र आसिफ शेखले भने ब्याटिङ वरीयतामा सुधार गरेका छन्।
बलिङ वरीयतामा पनि नेपालका खेलाडीको प्रगति देखिएको छ। ललित नारायण राजवंशीले दुई स्थान उक्लिंदै ५६औं स्थानमा स्थान बनाएका छन्।
यो नेपाली क्रिकेटका लागि उत्साहजनक उपलब्धि मानिएको छ।