काठमाडौँ, १२ साउन । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । गोली प्रहारपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार घटना बैंककको बाङ सुए जिल्लास्थित ‘ओर तो कोर’ बजारमा दिउँसो १२:३१ बजे भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणको कारण व्यक्तिगत रिसइवी रहेको बताइएको छ । आक्रमणकारी पहिले त्यहीँ बजारमा काम गर्थे र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोशित रहेको खुलेको छ ।
“यो जानकारी आक्रमणकारीको पत्नीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले जानकारी दिए ।
घटना स्थल चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच निकै लोकप्रिय गन्तव्य मानिन्छ । थाइल्याण्डमा कमजोर बन्दुक नियन्त्रण कानुनका कारण यस्ता सामूहिक गोलीकाण्डहरू बारम्बार भइरहेका छन् ।