विराटनगर, १२ साउन ।
कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि क्युआर कोडमार्फत घूस मागेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रले छानबिनको माग गरेको छ ।
मन्त्री मण्डलमाथि आरोप लागेको विषय सार्वजनिक भएपछि आइतबारको प्रदेशसभा बैठकमा उनले आफू यस प्रकरणमा संलग्न नरहेको दाबी गरे । मन्त्रीले क्युआर कोड पठाउने व्यक्ति आफ्नो सचिवालयको सदस्य नभएको स्पष्ट पारे पनि उनीमाथिको शंका हट्न सकेको छैन ।
मण्डलका निकट सहयोगी अमृत मेहताले कर्मचारीसँग घूस माग्न क्युआर कोड पठाएको आरोप छ । अमृत मन्त्रालयमा निजी सचिवका रूपमा कार्यरत थिए, तर कम शैक्षिक योग्यता भएकाले कागजमा नियुक्ति उनका भाइ सन्तोष मेहताको नाममा गरिएको खुलेको छ ।
प्रदेशसभा बैठकमै माओवादी सांसद गणेश उप्रेतीले मन्त्री मण्डलमाथि छानबिनको माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस नेता उद्धव थापासँग जवाफ मागे ।
उप्रेतीले भने, “कुनै पनि चोरले आफैंले चोरेको हुँ भनेको इतिहास छैन । यस विषयमा अनुसन्धान अनिवार्य छ ।”
मन्त्रीले सहयोगीलाई नचिन्ने ढंगमा उभिएको आरोप
स्रोतका अनुसार मन्त्रीले घूस प्रकरण सार्वजनिक भएपछि सचिवालयका आफ्नै सहयोगीलाई नचिनेजस्तो व्यवहार गरेका छन् । “मन्त्रीको स्वीकृति बिना सचिवालयका कर्मचारीले कसरी क्युआर कोड पठाउन सक्छन् ?” भन्ने प्रश्न उठिरहेको छ ।
मन्त्री मण्डलले भने, “मेरो सचिवालय वा मैले क्युआर कोड पठाएर रकम मागेको प्रमाण छ भने ल्याउन चुनौती दिन चाहन्छु ।”
माओवादीको कडा प्रतिक्रिया
सांसद उप्रेतीले भने, “मन्त्री आफैंले भनेजस्तो ‘मैले हैन’ भनेर छुट पाउने हो भने भ्रष्टाचार सजिलै ढाकछोप हुन्छ । सरकार र दल दुवैले यो प्रकरणमा चुप बस्न मिल्दैन । मुख्यमन्त्रीले जवाफ दिनुपर्छ ।”
उनी भन्छन्, “सरकारको मन्त्री घूस प्रकरणमा मुछिँदा पनि प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म मौन बस्नु लाजमर्दो हो ।”