काठमाडौं, १ साउन । एक वर्षअघि ३० साउनमा ३ हजार अंकमा पुगेको सेयर बजार फेरि आइतबार सोही बिन्दुसम्म पुगे पनि अन्तिम समयमा त्यो पार गर्न सकेन । दिनभर बढ्दो क्रममा देखिएको बजार १२:५१ बजे ३०१३ अंक पुगेको थियो, जसले धेरैलाई बजार ३ हजार माथि बन्द हुने अपेक्षा दिलाएको थियो । तर अन्तिम केही मिनेटमा देखिएको दबाबका कारण बजार फेरि ३ हजारभन्दा तल नै अडियो ।
गत वर्ष साउन ३० गते पनि नेप्से ३ हजारमा बन्द भएको थियो र त्यसपछि बजार लगातार ओरालो लागेको थियो । त्यसै कारणले ३ हजार अंकलाई प्राविधिक विश्लेषकहरूले ‘प्रतिरोध विन्दु’ मानेका छन् । यो स्तरबाट फेरि बजार ओरालो लाग्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा देखिएको छ ।
त्यति मात्र होइन, गत वर्ष सोही अवधिमा नेप्सेले अघिल्लो रेकर्ड ३१९८ अंक पार गर्ने चर्चा चलेको थियो, तर त्यो सफल हुन सकेन । त्यसयता बजार एक वर्षसम्म ३ हजार अंकभन्दा तल नै रह्यो ।
तर यो वर्ष भने अर्थतन्त्र, नीतिगत व्यवस्था, ब्याजदर जस्ता सूचकहरूमा परिवर्तन आएको विश्लेषकहरूले बताउँदै आएका छन् । आइतबार कारोबार रकम पनि उल्लेखनीय रुपमा वृद्धि भएर २६ अर्ब ५७ करोड पुगेको छ, जुन गत भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो, भने हालसम्मकै उच्च कारोबार २९ अर्ब ९५ करोड गत वर्ष साउन ३० गते भएको थियो ।
प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाका अनुसार, ३ हजार अंकबाट फेरि बजार घट्नु लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव पार्ने खालको हो । “यदि बजार २८५० अंकसम्म झर्यो भने त्यो प्राविधिक हिसाबले सामान्य मानिन्छ,” उनी भन्छन्, “तर त्योभन्दा तल झरेमा बजार लामो समय साइडवेज रहन सक्छ ।”
अब बजार ३ हजार अंकको प्रतिरोध पार गर्न सक्ने हो वा फेरि एक वर्ष जस्तै त्यही तल अल्मलिने हो भन्नेबारेमा लगानीकर्ता र विश्लेषक दुवै चनाखो देखिएका छन् ।