Gorkha Sansar

एनपीएल २ मा सरप्राइज र नयाँपनको तयारी, महिला क्रिकेट शीर्ष प्राथमिकतामा : पारस खड्का

काठमाडैं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई अझ रोमाञ्चक बनाउने तयारी भइरहेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्सले सुरु गरेको पोडकास्टमा बोल्दै उनले यो संस्करणमा ‘सरप्राइज’ तत्वहरू समावेश गरिएकाले क्रिकेट प्रेमीहरूले केही समय प्रतीक्षा गर्नुपर्ने बताएका हुन् ।

एक समर्थकले बलिङ स्पीड र छक्काको दूरी मापन हुने हो कि भनेर सोध्दा पारसले “कतिपय कुरा अहिले नै खोल्न मिल्दैन, ती सरप्राइजको रूपमा छन्,” भन्दै प्रशंसकहरूलाई धैर्य गर्न सुझाव दिए। उनले भने, “यदि अहिले केही कुराहरू खुलाएँ र पछि त्यो सम्भव भएन भने मजा जाँदैन। त्यसैले सबै कुरा तयारीमा छन् ।”

पारसले एनपीएलको पहिलो संस्करणमा आफू व्यवस्थापनमा व्यस्त भएर खेल हेर्न नपाएको अनुभव पनि साझा गरे । उनले दर्शकको चाप अत्यधिक भएको र ओनरस् लञ्जमै ३००–४०० जना अटाउने बनाइएको भए पनि त्यो क्षमताभन्दा धेरै मान्छे आएपछि समस्या भएको स्मरण गरे ।

यसपटक एनपीएलका केही खेल फ्लडलाइटमा रातको समयमा हुने संकेत पनि पारसले दिए । “अब जाडो मौसम सुरु हुने समय हो, तर टीयू मैदानको काम पूरा भएमा रातिको खेल पनि सम्भव हुन्छ,” उनले भने ।

अर्कोतर्फ, पारसले महिला क्रिकेटलाई शीर्ष प्राथमिकता दिइएको बताए । उनले उल्लेख गरे कि २०२५ मा सबैभन्दा धेरै क्याम्प महिला टिमकै भएको छ । एसिया कपभन्दा अगाडि ४० दिनको तयारीपछि नेपाली महिला टिमले युएईलाई हराएर शानदार प्रदर्शन गरेको उनले स्मरण गरे ।

“महिला क्रिकेटको संरचना बलियो बनाउनु अबको आवश्यकता हो । यदि नेपालले भविष्यमा टेस्ट राष्ट्र बन्ने हो भने महिला, पुरुष र जुनियर सबै तहमा मजबुत संरचना आवश्यक पर्छ,” पारसले स्पष्ट पारे। उनले यू–१६ महिला टिम निर्माणको तयारी भइरहेको जानकारी पनि दिए ।

एनपीएलको दोस्रो संस्करणको अक्सन मिति र तालिका छिट्टै सार्वजनिक हुने जनाउँदै पारसले नेपाली क्रिकेटको आगामी दिन झनै उज्यालो हुने विश्वास व्यक्त गरे ।

उनको भनाइअनुसार, यदि नेपालले टी–२० विश्वकपको छनोट पार गर्न सफल भयो भने त्यसपछि आयोजना हुने एनपीएल २ नेपाली क्रिकेटको उत्सवको रूपमा हुनेछ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.