Gorkha Sansar

नागरिक उड्डयन प्राधिकरणको ३१ अर्ब ४० करोडको बजेट सार्वजनिक

काठमाडौं, ७ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्राधिकरणले पूँजीगत खर्चका लागि १२ अर्ब ३९ करोड ७० लाख रुपैयाँ, कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड विनियोजन गरेको छ । कार्य सञ्चालनतर्फको बजेट कार्यालय खर्च, तलब तथा भत्ता लगायतका प्रयोजनमा खर्च हुने जनाइएको छ भने वित्तीय व्यवस्थापनको रकम नेपाल सरकारलाई तिर्नुपर्ने ऋण र ब्याज भुक्तानीमा प्रयोग गरिनेछ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पछिल्ला तीन आर्थिक वर्षयता नयाँ विमानस्थल निर्माण योजनाका लागि बजेट विनियोजन गरिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल अधिकतम क्षमतामा सञ्चालनमा रहेकाले आम्दानी बढाउन सेवा शुल्क वृद्धि गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए ।

उनका अनुसार, प्राधिकरणको कुल आम्दानीको ९० प्रतिशत त्रिभुवन विमानस्थलमा केन्द्रित छ। भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भए पनि सरकारले वायुसेवा कम्पनीहरूलाई सबै शुल्कमा छुट दिएकाले ती विमानस्थलहरूबाट आम्दानी नहुने अवस्था रहेको छ । यद्यपि आन्तरिक उडानमार्फत प्राधिकरणले सन्तोषजनक आम्दानी गरिरहेको बताइएको छ ।

विविध विमानस्थलका पूर्वाधार निर्माण तथा विकासका लागि प्राधिकरणले पूँजीगत शीर्षकमा ४९ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ । यस अन्तर्गत, महेन्द्रनगर विमानस्थलको नयाँ टर्मिनल भवन र टावर निर्माणमा १ करोड, भोजपुर १ करोड, रारा ४ करोड, डोटी १ करोड, भरतपुर ४ करोड, उदयपुरको सगरमाथा विमानस्थल १ करोड, टिकापुर ३ करोड, बाजुरा १ करोड, चुहानडाँडा १ करोड, र नेपालगन्जमा ४ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, कमलबजारलाई २ करोड, सुकेटार, दार्चुला, दाङ, महेन्द्रनगर र भद्रपुर विमानस्थलहरूलाई १–१ करोड छुट्याइएको छ ।

ठूला विमानस्थलहरूमध्ये विराटनगर विमानस्थलले ४ करोड, पोखरा विमानस्थलले करिब ५१ करोड र निर्माणको तयारीमा रहेको निजगढ विमानस्थलले २३ करोड ८० लाख रुपैयाँको बजेट पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न आयोजना सञ्चालनका लागि मात्र ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.