मोरङ, ७ साउन— स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनभित्र मोरङमा तालमेलको प्रयास चुलिँदै गएको छ । बुधबार बसेको बैठक आ–आफ्नो दाबीको उपस्थितिका साथ सकिएको छ । नेपाली कांग्रेसले ११ पालिकामा नेतृत्व गर्नुपर्ने दाबी गरेको छ भने माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले ३ वटा पालिकामा दाबी गरेका छन् । गठबन्धनका पाँच दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको उपस्थिति नभएकाले बाँकी चार दलबीच भागबण्डाको समन्वय खोजिएको हो ।
बैठकमा माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वासले छलफल सकारात्मक रहेको बताए । “आजको बैठकमा दाबी पेश गर्ने काम भयो,” उनले भने, “भोलि फेरि बसेर छलफल हुनेछ ।”
यसअघि गठबन्धन दलहरूबीच भएको बैठकले जिल्लाका १७ वटै पालिकामा कुन दलको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा माओवादी केन्द्रबाट विजय विश्वास, काँग्रेसबाट भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डा. उद्धव पोखरेल र जसपाबाट राजकुमार यादव रहेका छन् । कार्यदलले दुई दिनभित्र रिपोर्ट पेश गर्नुपर्ने कार्यादेश पाएको छ ।
स्रोतका अनुसार काँग्रेसले ११ वटा पालिका कुनै हालतमा नछाड्ने र बाँकी पालिकामा उपप्रमुख पदमा मात्रै सहमति जनाउने बताएको छ ।
काँग्रेस कार्यकर्ताको नाराबाजी
यसैबीच गठबन्धन बन्ने सम्भावना बढेसँगै काँग्रेसभित्र असन्तुष्टि चुलिएको देखिएको छ । विराटनगर महानगरपालिका–६ का काँग्रेस कार्यकर्ताहरूले जिल्ला पार्टी कार्यालयमा नाराबाजी गर्दै सभापति डिगबहादुर लिम्बूको कार्यकक्ष घेरेका छन् । उनीहरूले गठबन्धन अस्वीकार्य भएको भन्दै ‘गठबन्धन चाहिँदैन’ भन्ने नारासमेत लगाएका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा उक्त वडामा माओवादी केन्द्र विजयी भएको थियो । यसपटक पनि सो वडामा काँग्रेस कार्यकर्ताहरू एक्लै चुनाव लड्नुपर्ने माग गर्दै दबाब सिर्जना गरिरहेका छन् ।