काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले साउन २ गते आव्हान गरेको देशव्यापी आम शैक्षिक हड्ताललाई सफल पार्न योगदान पुर्याउने सबै विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षण संस्थाहरू, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।
संगठनका अध्यक्ष क. वीरेन्द्र शाहले जारी गरेको प्रेस विज्ञप्तिमा निःशुल्क, समान र वैज्ञानिक शिक्षाको मागसहित सरकारले बुझाइएको ज्ञापनपत्रप्रति सरकारको बेवास्ता र दमनकारी प्रवृत्तिको भर्त्सना गर्दै जनपक्षीय शिक्षा ऐनको अविलम्ब घोषणा गर्न जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार:
“नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको अगुवाई गर्ने अखिल (क्रान्तिकारी) निरन्तररूपमा वैज्ञानिक समाजवादी शिक्षाको प्राप्तिका लागि संघर्षरत छ। अहिले पनि शिक्षा प्रणाली ५४ वर्ष पुरानो पञ्चायती शिक्षा ऐनमा आधारित छ, जुन वर्तमान यथार्थ र आवश्यकतालाई सम्बोधन गर्न असमर्थ छ । निजीकरण र व्यापारीकरणको प्रवृत्तिले शिक्षा सर्वसाधारणको पहुँचबाहिर पुगेको छ ।”
नेपालको संविधान, २०७२ को धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख भए पनि व्यावहारिक कार्यान्वयनमा असमानता र विभेद कायमै रहेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ ।
संगठनले पटक–पटक जनविरोधी शिक्षा नीति विरुद्ध चेतावनी दिँदै आएको भए तापनि सरकारले ध्यान नदिएकोले आन्दोलनको विकल्प नरहेको र यही सन्दर्भमा आज साउन २ गते शैक्षिक हड्ताल गरिएको स्पष्ट पारिएको छ ।
शाहको अपिल:
“निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन सुनिश्चित हुने गरी अविलम्ब जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारसँग जोडदार माग गर्दछौं। साथै, संगठनले सञ्चालन गरिरहेको अभियानप्रति ऐक्यबद्धता जनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरुलाई आह्वान गर्दछौं ।”
क्रान्तिकारी अभिवादन सहित,
क. वीरेन्द्र शाह
अध्यक्ष, अखिल (क्रान्तिकारी)