अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।
अलजजिराले जनाएअनुसार अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको छ । यो कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन । त्यसबारे दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरुलाई पुनः निर्देशन गर्ने जनाइकाे छ ।
ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि दबाब बढाउँदै गएको बेला पछिल्लो यो कदम अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि झट्का लागेको छ ।
गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् ।
मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार ट्रम्प प्रशासनले हार्बर्डसँग बाँकी रहेको संघीय सम्झौता पनि चाँडै तोड्न लागेको छ । यदि त्यो सम्झौता तोडिएमा यो प्रकरणमा हालसम्मकै ठूलो कदम हुनेछ ।
निरन्तर चुनौतीहरू
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिका आउने व्यक्तिहरुले यहाँको कानुन बुझ्नुपर्ने बताइन् । बसाइँ लामो होस् या छोटो आपराधिक उद्देश्य नभएको हुनुपर्ने उनको जोड थियो ।
ब्रुसले विद्यार्थी भिसाका आवेदकहरूले प्राप्तिको सामान्य प्रक्रिया अपनाउनुपर्ने तर बढी जाँच हुन्छ भन्ने बुझ्नुपर्ने पनि बताइन् । ‘यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुस् र जाँचको सामना गर्न तयार हुनुस्,’ उनले भनिन् ।