तनहुँकाे महत्वपूर्ण धार्मिक स्थल देवघाटमा राती १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कार गर्न नदिने देवघाट बिकास समितिले जनाएकाे छ ।
धार्मिक मान्यता अनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनमा समेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको समितिले जनाएकाे छ ।
रातको समय गङ्गा विश्रामको समय भएको र शास्त्रीय मान्यता अनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन भनेर देवघाट क्षेत्रमा रातीको समयमा दाहसंस्कार गर्न रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताउनुभयो ।
राति एका–एक नदी बढ्न पनि सक्ने र शङ्कास्पद शव आउन सक्ने र जसका कारण अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रातको समयमा दाहसंस्कार रोकिएको हो । समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ ।
दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ ।