प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न अध्यक्ष चयन गर्न बाँकी

चितवन, मंसीर १९

नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सकिएको छ । चितवनमा शनिबार र आइतबार भएको महाधिवेशनले ८ मनोनीत सहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो। तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ भने अध्यक्ष सहितका पदाधिकारीहरुको समेत टुङ्गो लागेको छैन।

अध्यक्षमा विष्णु सापकोटा (जुगल), गोविन्द रोका (सचिन), बलराम थापा, लक्ष्मी पुन लगायतको दाबी थियो । १८४ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले १८४ जनाको पहिलो बैठकले नै अध्यक्ष सहितका पदाधिकारी चयन गर्ने बताए । केन्द्रीय सदस्यमा खाली रहेका ठाउँमा पनि पछि नै सदस्यहरु थपिने उनले बताए ।

शनिबार सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्व टुङ्ग्याइदिएको र बाँकी पदाधिकारी मिलाउन आग्रह गरेका थिए। तर, प्रचण्डले भनेका व्यक्तिलाई सर्वसम्मत अध्यक्ष मान्न अन्य दाबेदारहरु तयार नहुँदा अधिवेशन नेतृत्व चयन नै नगरी सकिएको हो ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेशी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एक जना रहनेछन् ।

१९ बुँदे घोषणापत्र सार्वजनिक

महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गर्दै दलहरुलाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरिएको छ ।

मिडिया सम्बन्धी पुराना कानून खारेज गरी नयाँ कानून बनाउन, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारी साधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्न समेत माग गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.