जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाका धार्चे र चुमनुब्रीलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका छन् ।
‘सुज’ अभियान अन्तरगत शुक्रबार धार्चे गाउँपालिका ४ स्थित लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले उत्तरी क्षेत्रका दुई वटा गाउँपालिकालाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका हुन् ।
भौगोलिक रुपमा विकट रहेको उत्तरी क्षेत्रको विकास र समृद्धिका लागि धार्चे र चुमनुब्री गाउँपालिकालाई अर्को छुट्टै जिल्ला बनाउनुपर्ने डा. भट्टराई बताउँछन् ।
उनले भने, ‘गोरखाको उत्तरी भेगलाई एउटा छुट्टै जिल्लाको बनाउने अभियान हामीले चलाउनुपर्छ । त्यसको निम्ति विशेष क्षेत्र बनाउन सक्ने भनेर संविधानमै उल्लेख गरिएको छ । यो स्वायत्त क्षेत्र भन्ने व्यवस्था पनि छ । जिल्ला, विशेष क्षेत्र वा स्वायत्त जे गर्दा पनि हुन्छ तर जनताले बुझने भनेको जिल्ला नै हो ।’ राज्यको हरेक तहमा पहुँच बढाउन र प्रतिनिधित्वका लागि छुट्टै जिल्ला हुनुपर्ने उनको भनाइ छ ।