दसैंमा महंगियो फलफूलको मूल्य

२८ असोज, काठमाडौं। नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकामा दशैको नवौँ दिन (महानवमी) मा विभिन्‍न स्थानहरुमा फलफूल किन्‍न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् ।

काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन्।

उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् ।

एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँभन्दा बढी पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको बताएका छन्।

ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउँदा केही महंगो भएको बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.