गोरखा, २३ गोरखा ।
आँबुखैरेनी सडक खण्डमा जिपको ठक्करबाट आज २ जना स्कुले बिधार्थी सहित ५ जना घाइते भएका छन् । गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको बा २ झ २२९२ नम्बरको कोष तथा लेखा नियन्त्रण कार्यालयको जिपले बिधालयबाट घर फर्कदै गरेका स्थानीय अमिसा थापा र इम्रन रानालाई ठक्कर दिएर घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
दुर्घटनामा परि गाडीमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख नारायणदत्त शर्मा, जिल्ला प्रसासन कार्यालय गोरखाका शाखा अधिकृत गणेश भट्टराई र उर्मिला भट्टराई घाइते हुनु भएको उहाँले बताउनुभयो । घाइते मध्ये थापा र रानालाई गोरखा अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको एसपी गुरुडले जानकारी दिनुभयो ।
अन्य ३ घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको छ । बाटोमा कुकुरलाई छल्न खोज्दा जीपले बाटोको छेउमा हिडिरहेको बिधार्थीलाई ठक्कर दिन पुगेको उहाँको भनाई छ । दुर्घटनामा परि जीप सडकबाट झण्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिनुभयो ।