रामटार । महाभारत डाँडैडाँडा रेखाङ्कन गरिएको कृषि सडकको मार्ग परिवर्तन गरिएको भन्दै असन्तुष्टि जनाउँदै सुनकोशी गाउँपालिकाको माथिल्लो भेगका नागरिकले वडा कार्यालय घेराउ गरेका छन् । प्लेकार्डसहित उपस्थित भएका नागरिकले सुनकोशी गाउँपालिका वडा नम्बर ५ को कार्यालय घेराउ गरेका हुन् । सरकारले बीपी राजमार्गको सोलाभञ्ज्याङ्ग–नागी–बन्दिपुर–काफ्लेचौरहुँदै काभ्रेको तालढुङ्गा जोड्नेगरी कृषि सडकको परिकल्पना गरेको थियो । सो सडकलाई स्थानीय नेताले बद्मासी गरी नागी–मझुवा–गैह्रीगाउँ–गाउँखर्क अमारेसम्म विस्तृत परियोजना प्रतिवेदन बनाई रेखाङ्कन तोडमोड गरेको आरोप स्थानीयवासीको छ । सो मागको सम्बोधन नभए माघ १२ गते गाउँपालिका कार्यालय घेराउ गर्ने योजना स्थानीयवासीको छ । स्थानीय नागरिक प्रमोद दाहालले सडकका सम्बन्धमा स्थानीय नागरिकको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने अन्यथा कडा आन्दोलन गर्न स्थानीयवासी वाध्य हुने बताउनुभयो । यसैगरी, सोही सडकको कार्य अगाडि बढाउन माग राख्दै स्वतन्त्र नागरिक समाजको नाममा सुनकोशी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
सडकको मार्ग परिवर्तन गरिएकाेमा वडा कार्यालय घेराउ
Facebook Comments Box