तनहुँ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तनहुँको शुक्लागण्डकी नगरपकालिका क्षेत्र पुन: बन्द हुने भएका छन् ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले महामारी न्यूनिकरण गर्नका लागि बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रबक्ता खिमबहादुर कुमालले बजार नगर क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तिव्र रुपमा बढ्न थालेपछि स्थानीयहरुको माग अनुसार बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
नगरक्षेत्र बुधबार राति १२ बजेदेखि लागु हुनु गरि आगामी २५ गतेसम्म नगरका बजार क्षेत्र पुर्ण रुपमा बन्द हुने नगरपालिका जनाएको छ । अत्यावश्यक सेवा बाहेक सवै सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द हुने भएता पनि कक्षा ११ को परिक्षा भने नरोकिने भएको छ । यस्तै बैक तथा वित्तीय सस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा समेत बन्दाबन्दीको समयमा प्रभावित हुने भएको छ ।
यस्तै स्थानीय स्तरमा चल्ने यातायातको सेवाहरुमा समेत रोक लगाइने प्रबक्ता कुमालले बताए ।
नगरपालिकाका १ सय ४६ जना संक्रमित रहेका छन् भने ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । दशै पश्चात होम आइसोलेसनमा बस्नेहरुबाट लापरवाही हुदाँ संक्रमण फैलिएको उनले बताए ।