काठमाडौ । सरकारले मनसुनजन्य विपतबाट प्रभावित पाँच सय ७२ घरपरिवारलाई अस्थायी बसोवासको व्यवस्थाका लागि ५० हजारका दरले राहत दिने प्रक्रिया अघि बढाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपतका घटनाको क्षति, खोज, उद्धार, राहत एवं पुनस्र्थापनाका सम्बन्धमा राष्ट्रिय सभाको आइतबारको बैठकलाई जानकारी दिने क्रममा दुई करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताएका हुन् ।
‘यस वर्षको मनसुनजन्य विपतबाट ०७८ असार १६ सम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका पाँच सय ७२ घरपरिवारलाई तत्काल अस्थायी बसोवासको व्यवस्थाका लागि प्रतिपरिवार ? रु ५० हजारको दरले करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ । घरवास गुमाएका प्रभावित परिवारहरूलाई उपलब्ध गराइने उक्त सहयोगलाई निरन्तरता दिइनेछ । यस वर्षको मनसुनजन्य विपतका कारण क्षति भएका सम्पूर्ण निजी आवासहरूको समेत विपत (मनसुनजन्य) प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको छ’ उनले भने ।