दुलेगौंडा– शुक्लागण्डकीका मगर र गुरुङ समुदायले श्रमदान गरेर २५६९ औं बुद्ध जयन्ती मनाउने भएका छन् । गुरुङ मगर साँस्कृतिक एकता समाजले ‘शान्तिका लागि श्रम’ नाराका साथ बुद्ध जयन्तीको अवसरमा श्रमदान गर्ने भएको हो ।
बैशाख २९ गते २५६९ औं बुद्ध जयन्ती मनाइदैछ । बैशाख २५, २६ र २७ गते श्रमदान कार्यक्रम आयोजना गरेको गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा ३९ फिट अग्लो बुद्ध प्रतिमा निर्माणस्थलमा श्रमदान गरिनेछ ।
एक्लेडाँडालाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यका साथ समाजले गौतम बुद्धको प्रतिमा निर्माणको योजना अगाडि सारेको हो । शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९ मा बसोबास गर्ने २४ वटा मगर समाज र १३ वटा गुरुङ समाजका सदस्यले श्रमदान गर्नेछन् ।
वडा अनुसार पालो मिलाइएको उनले जानकारी दिए । हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म श्रमदान हुनेछ । कुटो, कोदालो, सावेल, लिएर आउन सबैलाई आग्रह गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘कम्तिमा त्यहाँको ढुंगा, माटोमा सबैको सहभागिता रह्यो भने अपनत्व महशुस हुन्छ । कम्तिमा हाम्रो हो भन्ने हुन्छ’, अध्यक्ष गुरुङले भने, ‘प्रतिमा निर्माणको अभियानमा श्रमदानले निकै ठूलो भूमिका खेल्नेछ । दुवै समुदायसँगै सुखदुख साट्ने हिजोको प्रचलनलाई पनि निरन्तरता दिदैछौं ।’ नयाँपुस्तामा श्रमदान संस्कृतिको विकास गर्ने प्रयत्न रहेको बताए ।
६० लाख रुपैयाँको डिपआर बनाइएको छ । चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष बुद्ध पूर्णिमाको दिन बुद्ध प्रतिमा निर्माणस्थलमा भूमिपुजन गरिएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । गत वर्षसम्म शुक्लागण्डकीमा शान्ति¥याली गरेर जयन्ती मनाउने प्रचलन रहेको गुरुङ मगर साँस्कृतिक एकता समाजका सल्लाहाकार सूर्यबहादुर थापाले सुनाए । यो वर्ष श्रमदानसँगै गुम्बाहरुमा पुजापाठ, धार्मिक प्रवचनका कार्यक्रहरु हुने उनले जानकारी दिए ।
शुक्लागण्डकी–४ पुल्चोकमा गुरुङ र मगर समुदायको छुट्टाछुट्टै गुम्बा रहेको छ । दुवै समुदायले आफ्नो गुम्बामा समान्य पुजापाठ गरेपनि प्रवचन भने एकैठाउँमा हुने दुलेगौंडा गणपते तमु समाजका अध्यक्ष जितबहादुर गुरुङले बताए ।
