गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित आहालेबरमा निर्मित भवन आज पालुङटार नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
संघीय सहरी विकास इकाइ आयोजना ले एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुखलाई चाबी हस्तान्तरण गरेर भवन हस्तान्तरण गरिएको थियो। सहरी विकास आयोजना इकाइका इन्जिनियर पुरुषोत्तम पंगेनी र पालुङटार नगरपालिका का नगर प्रमुख विवश चिन्तनले संयुक्त रुपमा हस्ताक्षर गरी हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै संघीय सहरी विकास आयोजना पोखरा कार्यालयका इन्जिनियर पुरुषोत्तम पंगेनीले भवनको लागत को बारेमा जानकारी दिनुभएको थियो। उहाँका अनुसार तीनवटा ब्लकमा निर्माण गरिएको उक्त भवन निर्माणका क्रममा १३ करोड ६५ लाख ७७ हजार खर्च भएको छ।
श्यामसुन्दर निर्माण कम्पनीले २०७४ असार ३० गते सम्झौता गरी काम सुरु गरेर उक्त भवन २०७९ साउन २५ गते निर्माण सम्पन्न गरिसकेको थियो।
सुरुमा भूकम्प पीडितहरूका लागि व्यवस्थापन गर्ने उद्देश्यले उक्त भवन निर्माणको कार्य सुरु गरिएको भए तापनि पछिल्लो समय यो भवन केमा प्रयोजन गर्ने भन्ने विषयमा अन्योल बढिरहेको छ।
भवन हस्तान्तरण को फाइलमा सही गर्दै चाबी बुझ्ने क्रममा नगर प्रमुख विवश चिन्तनले यस भवनलाई केमा प्रयोजनमा ल्याउने भन्ने विषयमा निश्चित नभइसकेको तर छलफल र बहसबाट रोजगारी सिर्जना हुने खालका योजना ल्याउन आफूले सक्दो पहल गर्ने बताउनुभएको थियो।
उक्त भवन हस्तान्तरण कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कमाल वडा सदस्य प्रेम बहादुर कुमाल लगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।
करोडौं लगानीमा निर्माण सम्पन्न भएको उक्त भवनले के प्रयोजन पाउला भनेर स्थानीयहरू को चासो बढिरहेको छ ।


