चैत १४,डुम्रे ।
तनहुँका भानु १ पुलचोक मा ३ दिनसम्म निशुल्क रुपमा तोरी पेल्न पाइने भएको छ।
भर्खरै सञ्चालनमा आएको थानीमाई तोरी मिल मा उदघाटन को अवसर मा उक्त सुविधा उपलब्ध गराइएको संचालन भानुभक्त पोखरेलले जानकारी दिनुभयो।

तनहुँको भानु नगरपालिका-१ , डुम्रे पुलचोक नजिकै साजबोटेमा खाद्यान्न मिल सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमबीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए। उनले कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्न सरकार तथा सम्बन्धित निकायहरूले किसानहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए।
कृषि पेशालाई अगाडि बढाउन वास्तविक किसानहरूलाई माथि उठाउनु आवश्यक छ। उनीहरूलाई अनुदानका साथै विभिन्न किसिमका सहुलियत प्रदान गरी प्रोत्साहन गर्नुपर्छ। यसले मात्र कृषि क्षेत्र मजबुत बन्न सक्छ र किसानको जीवनस्तर उकास्न सकिन्छ,अध्यक्ष चुमानले भने।
उक्त कार्यक्रममा भानु नगरपालिका-१ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बन्दीपुर गाउँपालिका-१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू घनश्याम श्रेष्ठ देवान, मानकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
उक्त मिल आठ जना साझेदारको लगानीमा निर्माण भएको हो। कुल २५ लाख रुपैयाँ लागतमा बनेको मिल प्रविधियुक्त भएकाले स्थानीय किसानहरूलाई सहज हुने छ।
साझेदार भानुभक्त पोखरेलका अनुसार, सेवा सरल बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको छ। आगामी चैत १५ गतेसम्म स्थानीयहरूले निःशुल्क सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।