फागुन १५ गते
गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्ली स्थित खहरेमा खहरे मगर भेजाको आयोजनामा आज पालुङटार नगरपालिका स्तरीय ४३ औँ मगर स्थापना दिवस सम्पन्न भएको छ।
हरे मगर भेजाका अध्यक्ष दीपबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मगर सङ्घका मनबहादुर लुङ्गेली मगरले सम्पूर्ण मगरहरू एक भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। रिता थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका पूर्व नगर प्रमुख इन्जिनियर दिपक बाबु कँडेल, उद्योग वाणिज्य सङ्घ पालुङटार इकाइका अध्यक्ष मनबहादुर आले, नेपाल मगर सघका क्षेत्रीय समितिका बेदबहादुर राना पालुङटार नगरपालिका मगर महिला सङ्घकी सचिव सपना आले, पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमिला थापा र खोप बहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। इमानबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा घैँटो फुटाई, बिस्कुट दौड, डोरी तान्ने खेल लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
मगर समुदायको स्थापना भएको दिनलाई सम्झना गर्दै फागुन १५ गतेलाई मगर समुदायले हरेक वर्ष स्थापना दिवसको रुपमा मनाउँदै आउने गरेका छन् ।
