शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले आठ बिघा १६ कठ्ठा जग्गा दिने

चितवन, १७ माघ ।

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । नेपाल सरकारकाे मन्त्रीपरिषदकाे निर्णयअनुसार भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव पारित भएसँगै महानगरपालिकाले साे जग्गा उपलब्ध गराउने भएकाे हाे ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चितवनको भरतपुरमा थप एउटा केन्द्रीय स्तरको शिक्षक अस्पताल बन्ने पक्का भएसँगै भरतपुरमा नयाँ आयाम थपिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरमा बनाउन भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो । सोही अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले देशभरका शिक्षकहरूलाई उपचारका लागि भरतपुर उपयुक्त स्थान हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सुरुमा तीन सय शय्याको अस्पताल बनाएर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रसमेत हो । शिक्षक अस्पताल भरतपुरमा बनाउनका लागि प्रचण्ड पनि सकारात्मक थिए ।

शिक्षक अस्पताल निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो । समितिले नवलपरासी, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा जग्गा हेरेको थियो ।

चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै प्रदेश स्तरका निजी अस्पताल छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.