दुई वर्षमुनिका शिशुलाई गाउँपालिकाको प्रोत्साहन भत्ता

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिको बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ । शिशु पोषण प्रवर्धन कार्यक्रम अन्तरगत गाउँपालिकाले आइतबारदेखि दुई वर्षमुनिको बालबालिकालाई २०७६ साउनदेखि यो असारसम्मको एकमुष्ट प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । प्रोत्साहन भत्ता वितरणको तयारीकाक्रममा लकडाउन भएपछि आर्थिक वर्षको अन्तिममा मासिक एक हजारका दरले शिशु प्रोत्साहन भत्ता वितरण सुरु गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

बच्चा गर्भमा छाँदा आमाले चार पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्म दर्ता गराएको लगायतका मापदण्ड पूरा गरेको आधारमा गाउँपालिकाले २०७५ साल बैसाख १३ गतेदेखि प्रतिबच्चा मासिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गर्दैआएको छ । आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँका ७९ शिशुलाई मासिक एक हजारका दरले आर्थिक वर्ष २०७६/०७७ भित्रको प्रोत्साहन भत्ता वितरण गरिएको छ । क्रमशः अन्य ७ वटै वडाका शिशुलाई प्रोत्साहन भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलव्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले प्रोत्साहन भत्ता उपलव्ध गराउने गरेको छ । गाउँपालिकामा स्वस्थ नागरिक उत्पादन गर्दै ‘स्वस्थ गाउँपालिका’ निर्माणका लागि शिशु पोषण प्रवर्धन कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख राईले बताए ।

गाउँपालिकाले प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि गर्भवती आमाले नियमित गर्भजाँच गराउन थालेको, जन्मिसकेका बालबच्चालाई पनि नियमित स्वास्थ्यजाँच तथा नियमित खोप लगाउने संख्यामा सुधार आएको छ । शिशु पोषण प्रवर्धन कार्यक्रम वापतको भत्ता दुई वटा बच्चा भएसम्म मात्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ । ‘स्वस्थ गाउँपालिका बनाउनका लागि हामीले दुई वर्षमुनिका बालबच्चाका लागि प्रोत्साहन भत्ता दिन थालेका हौँ,’ गाउँपालिका प्रमुख राईले भने, ‘प्रोत्साहन भत्ताका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । दुई भन्दा बढि बच्चा जन्माएको हकमा भने प्रोत्साहन भत्ता दिइने छैन ।’

सुत्केरीलाई झुल

यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका महिलालाई झुल वितरण सुरु गरेको छ । गर्मी याम सुरु भएसँगै लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट सुत्केरी र नवजात शिशुलाई बचाउनका लागि झुल वितरण सुरु गरिएको हो । गाउँपालिकाका ७ वडाका ९८ सुत्केरीलाई झुल वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई, स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले सुत्केरीलाई झुल वितरण गरेका छन् ।

नागरिकमा खबर छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.